![]() |
हामी आज मान्छेको 'पागलपन' व्यवहारहरू सँग कस्तो व्यवहार गर्छौं ? मलाई लाग्छ,यस प्रश्नको जवाफ दिन त्यति धेरै असहज छैन।पागलपन एक प्रकारको मानसिक रोग हो भन्ने हामी सबैमा बुझाइ रहेको पाइन्छ।कुनै मानिसमा पालगपनको लक्षण देखिएमा उसलाई मानसिक अस्पतालमा जचाउँन सुझाब सल्लाह दिन्छौं हामी उसलाई तुरुन्त मानसिक अस्पतालमा भर्ना पनि गर्छौ।अस्पतालमा चिकित्सकले विस्तृत परीक्षण गरेपछि लक्षणका आधारमा उपचार विधि तय गर्छन् र उसको 'रोग'लाई आधुनिक चिकित्सा पद्धतिको सहायताले नियन्त्रणमा लिने प्रयास गरिन्छ ।
पागलपनबारे हाम्रो समाजमा जस्तो दृष्टिकोण छ,के सधैँ यस्तै थियो होला त ? यदि थिएन भने पागलहरूसँग हामीले गर्ने व्यवहारको स्वरूप विगतमा कस्तो थियो होला? पागलपनको रोगका रूपमा विभिन्न परिभाषा र यसको उपचार पद्धतिको विकास कसरी भयो ? यस्ता प्रश्नले गर्दा फ्रेन्च चिन्तक मिशेल फुको (फुको बिसौं शताब्दिका महान इतिहासकार र दार्शनिक मानिन्छन्) ले युरोपमा पागलपनको इतिहास बुझ्न त्यस बेलाका लिखित सामग्रीको अध्ययनमा प्रेरित गरे । यसका आधारमा सोह्रौं शताब्दीयता इतिहासका विभिन्न कालखण्डमा पाश्चात्य समाजमा पागललाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गर्ने व्यवहारको वर्णन फुकाले आफ्नो पुस्तक म्याडनेश एन्ड सिभिलाइजेशनमा प्रस्तुत गरेका छन् ।
फुकोका अनुसार मध्ययुग (Middle Ages)मा समग्र युरोपलाई कुष्ठरोगले गाँजेको थियो । त्यस बेला कुष्ठरोगको उपचार पद्धतिमा विकास भएको थिएन । मानिसलाई कुष्ठरोग किन र कसरी लाग्छ भन्ने ज्ञान पनि थिएन त्यसको कारण पनि कसैले खोज्ने प्रयास गरिएन । कुष्ठरोगीहरू ईश्वरको श्राप पाएका मानिस भन्ने आम व्यक्तिहरूमा धारणा थियो ।त्यसैले उनीहरूलाई समाज बाट (Isolated) अलग गरेर राख्ने प्रचलन थियो।
कुष्ठरोगीहरू लाई राख्न विशेष घर जसलाई लाजार हाउस (Lazar Houses) भनिन्थ्यो त्यो बनाएर राख्ने गरिन्थ्यो। तेह्रौँ शताब्दीको अन्त्यमा फ्रान्समा मात्र लगभग दुई हजारभन्दा बढी यस्ता संरचना बनेका थिए । इङ्ल्यान्ड र स्कटल्यान्डमा पाँच लाख जनसङ्ख्याका लागि २२० घर बनाइएका थिए । हरेक लाजार हाउसमा हजारौँ कुष्ठरोगीलाई थुनेर राखिएको थियो ।
मध्ययुगको अन्त्यमा एकाएक कुष्ठरोगीहरूको सङ्ख्यामा कमी आउन थाल्यो । कुष्ठरोगीलाई अलग्गै राख्न बनाइएका हजारौं यस्ता संरचना खाली हुन थाले । तीमध्ये केही संरचना अस्पताललाई पनि हस्तान्तरण गरियो । केहीलाई भने स्थानीय संस्थाको जिम्मा लगाइयो । त्यसपछि पनि अझै सयौँ रित्ता घर यत्रतत्र उपयोग विहीन थिए । तिनीहरूको उपयोग कसरी गर्ने र सञ्चालन खर्च कसरी जुटाउने भन्नेमा प्रशस्त समस्या थियो ।
कुष्ठरोगको समस्या घट्न थालेको लगभग तीन शताब्दीपछि तिनै घरहरूको उपयोगका लागि केही समाजका अगुवा ,बौद्धिक व्यक्तित्वहरू,राजनीतिक व्यक्तित्त्व,विज्ञहरु र पोलिसी मेकरहरु मिलेर नयाँ योजना बनाउन थाले। चौधौँ शताब्दीमा पुनर्जागरणको शुरुआत सँगै गरीब,अपराधी,डुलुवा र अनियन्त्रित मगज (जसलाई हामी बहुला भन्छौ) भएकाहरू (Deranged Minds) लाई यस्ता घरमा थुन्ने क्रम व्यापक रूपमा शुरू भयो । जर्मनी,फ्रान्स र इङ्ल्यान्डका लाजार हाउसहरू सडकका मगन्ते,बगलीमार,बरालिएर हिँड्ने मानिस र पागलहरूले खचा खाच भरिन थाले ।
मध्ययुगमा पागलपनका लागि अलग शब्द (जस्तै- Madness) थिएन । असामान्य बोलाइ र व्यवहारलाई फोली (Folly)भनिन्थ्यो । फोलीलाई त्यो बेला खासै समस्याका रूपमा हेरिदैनथ्यो । यसलाई ज्ञानभन्दा माथिको अवस्था मानिन्थ्यो । असामान्य कुरा बोल्न र व्यवहार गर्नेहरू(जसलाई Madmen,Fools,Simpleton भनिन्थ्यो) लाई सत्य बोल्ने मानिसका रूपमा हेरिन्थ्यो र सम्मान गरिन्थ्यो । पन्ध्रौं शताब्दीको शुरूआतसँगै फोली एकाएक समस्यामा रूपान्तरित हुन थाल्यो।
नाङगै हिँड्ने बर्बराउनेे मानिस लाई शहरबाट लखेट्न थालियो। कति लाई पानी जहाजमा राखी एक ठाउँबाट अर्को ठाउँमा लगेर छाड्ने चलन शुरू भयो । यस्ता पानीजहाजलाई शिप अफ फूल्स (Ship of Fools) भनिन्थ्यो । यसरी मध्ययुगमा समस्याका रूपमा नहेरिएको फोली पुनर्जागरणको शुरूआतसँगै समस्यामा रूपान्तरित भयो । फोली मानिसलाई नकारात्मक रूपमा गिज्याउने होच्याउने र हेप्ने गर्ने क्रम सुरु भयो । ' रिजन '(Reason) लाई उच्च महत्त्व दिएको पुनर्जागरणले फोलीलाई अनरिजन (Unreason) का रूपमा व्याख्या गर्यो । त्यसैले जब कुष्ठरोगीलाई राखिएका घरहरू खाली भए,पागलहरूलाई त्यहाँ राख्न उपयुक्त ठानियो ।
सत्रौँ शताब्दीमा युरोपभर गरीब,घुमन्ते र पागललाई थुन्ने क्रम व्यापक भयो । फ्रान्समा यस्ता घरहरूलाई होपिटाल जेनेराल (Hopital Général) भनिन्थ्यो यस्ता घरहरूलाई सुधार गृह (Correction Houses)का रूपमा विकास गरियो । यस्ता घरमा त्यस्ता मानिसलाई थुनिन्थ्यो,जो कि आर्थिक रूपमा उत्पादनमूलक काममा संलग्न भएका थिएनन् । त्यसैले उनीहरूलाई बन्दीगृहमा थुन्नु आर्थिक रूपमा उत्पादनशील कामलाई समाजले दिएको महत्त्व मात्र थिएन, उनीहरूलाई उत्पादनशील कार्यमा लगाउनु पनि थियो । यस्ता बन्दीगृहहरू स्वयंमा आर्थिक केन्द्र बन्न थाले ।
सत्रौं शताब्दीमा पागलपनलाई समाजले गर्ने व्यवहारमा दुई महत्त्वपूर्ण परिवर्तन आए । पहिलो , यसलाई अन्य प्रकारका मूर्ख काम (Unreason) बाट अलग गरियो । विगतमा पागलहरूलाई असामान्य काम गर्ने वा समाजका स्थापित नीतिनियम मूल्यमान्यता उल्लङ्घन गर्ने अन्य मानिसलाई जस्तै व्यवहार गरिन्थ्यो । तर सत्रौँ शताब्दीमा यस दृष्टिकोणमा परिवर्तन आउन थाल्यो ।
पागलहरूले गर्ने व्यवहार जस्तै- बर्बराउने (Delirium) लाई जनावरको व्यवहारसँग तुलना गर्ने क्रम शुरू भयो । त्यसैले जनावरको जस्तो व्यवहारबाट मानिसको जस्तो व्यवहार गर्नमा रूपान्तरण गराउन उनीहरूमाथि सुधारगृहभित्र नियन्त्रणका प्रयास हुन थाले दोस्रो , पागलहरूको व्यवहारलाई नियन्त्रण गर्न कानून बने र प्रहरीलाई निश्चित जिम्मेवारी दिइयो । सत्रौं शताब्दीमा आएर बल्ल जनताको पागलपन राज्यको औपचारिक दायित्वभित्र पर्न गयो ।
काम र उत्पादकत्वलाई दिइएको महत्त्वबाट शुरू भएको अनुत्पादक मानिसलाई नियन्त्रणमा राख्ने अभ्यास अठारौं शताब्दीमा अलग स्वरूपमा विकसित हुँदै गयो । पागलपनको वस्तुगत अध्ययन र व्याख्याको विकास भयो।उदासी (Melancholy),हिस्टेरिया (Hysteria),रोगको त्रास (Hypochondria) आदि अवस्थाका लक्षणहरूका आधारमा पागलपनको सही कारण र निदानका उपाय पत्ता लगाउने क्रम शुरू भयो । मानिसको शरीरलाई चार पदार्थ कफ (Phlegm),पित्त (Choler),कालो पित्त (Black Bile)र रगत (Blood)को सन्तुलनका आधारमा व्याख्या गर्न थालियो । यसका आधारमा फरक मानसिक अवस्था कुन पदार्थ बढी वा घटीका कारण हुन्छ भन्ने विस्तृत विश्लेषण तयार पारियो ।
यही क्रममा मानसिक अवस्थालाई मानिसको जीवनशैली वा सोचाइका आधारमा विश्लेषण गर्ने क्रम शुरू भयो । पागलपनलाई नैतिकता वा सदाचारको अभावबाट सिर्जना हुने अवस्थाका रूपमा व्याख्या गर्न थालियो । पागलपन क्रमशः समाजको भयङ्कर ठूलो समस्याका रूपमा परिणत भयो ।
उन्नाइसौँ शताब्दीमा पागलपनको उपचार र नियन्त्रणका लागि विस्तृत ज्ञान तथा विधिहरू विकास गरियो । मनोविज्ञान (Psychology) ले नैतिकता र पागलपनलाई जोड्न मद्दत गर्यो । फ्रान्सका फिलिप पिनेल (Philippe Pinel) र इङ्ल्यान्डका स्यामुएल टुक (Samuel Tuke) तथा उनका दाजु विलियम टुक ( William Tuke) ले पागलहरूलाई धर्म र नैतिकताका माध्यमले उपचार गर्न निजी प्रयासमा रिट्रिट (Retreat) हरू स्थापना गरे । यस्ता रिट्रिट वा असाइलम (Asylum) मा 'पागल' लाई आफ्नो पागलपन प्रति हिनताबोध गराएर 'सामान्य' बनाउने प्रयास गरिन्थ्यो । नैतिकता र अनुशासन मान्न नचाहने पागलहरूलाई नियन्त्रणमा लिइन्थ्यो र अलग राखेर सजाय दिइन्थ्यो ।
टुक र पिनेलका 'रिट्रिट'हरूमा पागललाई अनुशासित गराउन विभिन्न गतिविधिमा संलग्न गराइन्थ्यो । यस्ता गतिविधिमा संलग्न हुँदा उनीहरूले प्रदर्शन गरेका व्यवहार र तिनमा आएको परिवर्तनबारे विस्तृत गरिन्थ्यो । त्यसका आधारमा उनीहरूलाई सामान्य बनाउने प्रभावकारी विधिबारे अध्ययन र अनुसन्धान गरिन्थ्यो । असाइलमभित्र पागलका गतिविधिका यस्तै वस्तुगत अध्ययन तथा विश्लेषणबाट मनोविश्लेषण र मनोविज्ञानका विधाहरूको विकास भयो। यहीक्रममा मनोचिकित्सकहरूले पागलमाथि विभिन्न रूपमा आफ्नो नियन्त्रण स्थापना गरे । पागलपन एक विशुद्ध रोग भयो । मनोचिकित्सा मानिसलाई 'स्वस्थ्य' बनाउने माध्यम बन्यो ।
फुकोको दर्शनले उठाएका र प्रारम्भमा उल्लेख गरिएका तीन प्रश्नमध्ये पहिलो प्रश्नलाई हेरौँ , जसमा फुको जान्न चाहन्थे आजका संस्थाहरू जुन उद्देश्यबाट निर्देशित छन् ,के तिनीहरूको स्थापना यसैका लागि भएको हो ? इतिहासको विस्तृत अध्ययनका आधारमा फुकोले देखाएका छन् पागलपनलाई हेर्ने दृष्टिकोण,आज भएका मानिसक अस्पतालहरू र तिनले प्रयोग गर्ने विधि तथा पद्धतिको शुरूआत आवश्यकता नभएर नितान्त संयोग थियो । त्यसैले तिनीहरूलाई निर्विकल्प सत्य मान्न आवश्यक छैन ।
Comments
Post a Comment